रवीन्द्रको बन्दीप्रत्यक्षीकरणको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा

रवीन्द्रको बन्दीप्रत्यक्षीकरणको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा



काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

बुधबार सर्वोच्च अदालतले निवेदनको सुनुवाइको लागि न्यायाधीश सुनिल पोखरेलको इजलास तोकेको छ । प्रारम्भिक सुनुवाइ पछि अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ ।

मिश्रकी पत्नि सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

१५ चैतमा तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले पाँच दिन पुनः म्याद थपेको छ ।

उनलाई आठौंपटक म्याद थप गरिसकिएको छ । प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको भन्दै लगातार म्याद थप गराएको हो ।