काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउका सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ ।
मिश्रको पक्राउ र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रसहित उपस्थित गराउन भनेको छ ।
मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखिएको दाबी गरेर उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । मिश्र पक्राउको ४५औँ दिन मंगलबार दर्ता रिटमा थुनामुक्त गर्न आदेश माग गरिएको थियो ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र ४८ दिनदेखि प्रहरी हिरासतमा छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
उनीमाथि अनुसन्धान र बयान लिने काम सकिसकेको भएपनि हाजिर जमानीमा नछाडिएको उनकी श्रीमती कार्कीको जिकिर छ ।
प्रतिक्रिया