सगरमाथा संवाद : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण

सगरमाथा संवाद : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस फोरममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत छलफल हुने बताएकी छन् ।

दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशिलतासम्बन्धी बुधबार काठमाडौंमा आयोजित कार्यशालामा उनले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर विश्वव्यापी समस्या रहेकाले त्यसै बमोजिमको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने स्पष्ट गरे ।

मन्त्री डा. राणाले भने, “यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरु पर्याप्त छैनन् । त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरेको हो । त्यसैले यो सबैको साझा मञ्च हो ।”

हालैका वर्षहरूमा नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा र बाढी, हिमताल विस्फोट, खडेरी, बन डढेलो लगायतका जलवायुजन्य गम्भीर प्राकृतिका प्रकोपको सामना गरिरहेको दृष्टान्त पेश गर्दै यस्ता समस्याहरु यस क्षेत्रकै समस्या रहेकाले तिनको निकासका लागि यो कार्यक्रम महत्त्वपूर्ण रहने पनि बताए ।

उनले भने, “नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ ।”