महोत्तरीको जलेश्वर अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या

महोत्तरीको जलेश्वर अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या



महोत्तरी । महोत्तरी जलेश्वरको प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ ।

सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पताल प्रमुख डा. विकास साहले बताए ।

१० नगरपालिका र पाँच गाउँपालिका भएको अस्पतालमा दुई महिनादेखि औषधि अभाव भएको गुनासो गर्दै उनले समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

अस्पतालमा दैनिक ३ सय जना बिरामी आउने गरेका छन् । मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिका लागि निरन्तर अनुरोध भएको प्रमुख साहले बताए ।

आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट जेनतेन व्यवस्थापन गरिहेको जानकारी दिँदै उनले इमर्जेन्सी सेवा पनि प्रभावित बन्ने परिस्थिति उत्पन्न भएको बताए ।