गभर्नर सिफारिशका लागि नयाँ समिति गठन

गभर्नर सिफारिशका लागि नयाँ समिति गठन



काठमाडौं । सरकारले गभर्नर छनोटका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिश समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिश समिति खारेज गरेर पुनः नयाँ समिति गठन गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् । यसअघिको समितिका विज्ञ सदस्य विश्व पौडेलको राजीनामापछि सरकारले पाण्डेलाई समेटेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्थानुसार यसअघि गएको चैत ११ गते सरकारले गभर्नर सिफारिश समिति गठन गरेको थियो । एक महिनासम्म पनि बैठक नबसेको, गभर्नर छनोटमा समितिको भूमिका नरहेको भन्दै शुरूको समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । त्यसपछि सरकारले भट्टराईको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेको थियो ।

गएको चैत २५ गतेदेखि राष्ट्र बैंकमा गभर्नर पद खाली छ । कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई दिइएको छ ।