काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको महत्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको छ ।
बिहीबार थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेसँगै समूहको शीर्ष स्थानमा रहेर सुपर-३ मा पुग्ने सम्भावना कायम राखेको हो ।
थाइल्यान्डको बैंककमा वर्षाले प्रभावित खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनले ३ विकेटको क्षतिमा ७६ रन बनाउँदा खेल रोकिएको थियो ।
वर्षा रोकिएपछि नेपाललाई डिएसएलको मेथडमा ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो । जुन लक्ष्य नेपालले ५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कप्तान इन्दू बर्माले ७ बलमा नटआउट २४, ओपरन सम्झना खड्काले ५ र पूजा महतोले १३ रनको योगदान दिइन् ।
जितसँगै नेपालले समूहमा चार खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ ।
४ अंक जोडेको हङकङ र १ अंक जोडेको बहराइनबीचको भोलि हुने खेलपछि सुपर-३ मा पुग्ने टोलीको टुंगो लाग्नेछ । नेपाल सुपर-३ मा पुग्न हङकङ पराजित हुनुपर्ने समिकरण छ । वर्षाले खेल रद्द भएर अंक बाँडेमा रनरेटमा हङकङअघि छ । हङकङले जित निकाले पनि नेपाल बाहिरिनेछ ।
प्रतिक्रिया