काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमणमा रहेको रुसी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले सो निमन्त्रण दिएको उनको सचिवालयले जनाएको छ ।
रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिए । सोही क्रममा ओलीले पनि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरेका छन् । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाए ।
प्रतिक्रिया