काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ को चुनावसम्म वामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।
प्रेस सेन्टर नेपाल डडेल्धुराद्वारा आयोजित पत्रकार सम्मेलनलाई बोल्दै विगतमा असफल भएर पनि फेरि एकपटक प्रयास गर्दा पनि नराम्रोसँग धोका खाएको स्मरण गरे ।
उनले भने, ‘हामीले वामपन्थी एकता होस् भन्ने चाहना राखेकै हो । केपीजीसँग एकताको प्रस्ताव राखेर भएको पनि हो । तर त्यो तोडियो । फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको नराम्रोसँग धोखा खाइयो । पार्टीले मात्रै होइन नेपाली जनतालाई पनि धोखा भयो त्यसैले अहिले र ०८४ को चुनावसम्म त्यो सम्भावना छैन ।’
प्रचण्डले अहिले आफ्नो ध्यान सरकारतिर नभएको जिकिर गरेका छन् । यद्यपि सरकार उल्टो बाटोमा हिँडिरहेको र सुशासन भत्काउने तिर गइराखेकाले त्यसको खिलाफमा खबरदारी जारी राख्ने उनले बताए ।
उनले थपे, ‘यद्यपि हामीलाई चिन्ता छ, सरकार गलत बाटोमा हिँडिरहेको छ । सरकारले सुशासन र हामीले शुरु गरेका कामलाई भत्काउने कामतर्फ लागेको छ । सरकार उल्टो बाटो हिँडेकोमा चिन्तित छौँ ।’
सरकार आफ्नालाई जसरी पनि जोगाउने र विरोधीलाई ठेगान लगाउने बाटोमा हिँडिरहेको दाबी गरे ।
प्रतिक्रिया