सरकार सरकारजसरी चलेन : कांग्रेस सांसद गौतम

सरकार सरकारजसरी चलेन : कांग्रेस सांसद गौतम



काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले दुई पार्टी मिलेर बनेको सरकार सरकारजसरी चल्न नसकेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद गौतमले‍ सांसदको हैसियतले त्यस्तो अनुभूति गरेको बताए । उनले भने, “अहिले जुन सरकारमा छौँ । कांग्रेस र एमाले मिलेर सरकार बनाइएको छ । सरकार सरकारजसरी चलेको अनुभूति गर्न सकेको छैन ।”

उनले संसद्‌मा जुन किसिमको भाइब्रेसन हुनुपर्ने हो त्यो हुन नसकेको भन्दै न्यायपालिकमा पनि जनताको भरोसा नभएको जस्तो देखिएको बताए । “संसद् जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।” उनले भने, “जनता निराश छन् । जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौँ । एक किसिमको सोच र सम्भावाना क्रियट गर्न सकेका छैनौँ,” गौतमले भने ।

उनले शीर्ष नेताहरूले राष्ट्रिय सहमति गर्ने बेला आइसकेको समेत बताए । “अब बेर भइसक्यो, एकपटक शीर्षस्थ नेताले टाउको जोड्नुस् । अब मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सक्यौँ, संविधान संशोधन गर्न सक्यौँ,” उनी भन्छन्, “जनतामा आशा र भरोसा पैदा गर्न सक्यौंँ र मुलुकलाई निश्चित दुरीसँग हिँड्न सके मुलुकलाई एक ठाउँमा पुर्‍याउला ।”