नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल क्वालिफायरमा

नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल क्वालिफायरमा



काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल क्वालिफायरमा पुगेको छ ।

सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल ५ विकेटले जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो ।

यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन् ।

रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान दिइन् । ६४ रनमा ४ विकेट गएको नेपालका लागि रुविना र इन्दुले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ डाेहाेर्‍याएका हुन् ।

त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो ।

यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाए ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।

नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ । उक्त खेलको नतिजा जस्तो आएपनि नेपाललाई फरक भने पर्ने छैन ।