फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना



लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ ।

मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी फुटबलर सावित्रा भण्डारीको सम्मानमा स्थापना गरिएको चोकमा साम्बाको स्क्याचुसहित स्तम्भ निर्माण गरिएको हो ।

सो स्तम्भको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घटन गरे । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बोहोरा, सशस्त्र प्रहरी आश्रित गुल्मका डिएसपी दीपक पुरी, अनुसन्धान प्रमुख विष्णुहरि पण्डितलगायतको सहागिता थियो ।

“हाम्रो चेली सावित्राले फुटबल खेलको क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउन सफल हुँदा पालिकाबासी धेरै हर्षित छौं”, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, “पालिकाको मात्र नभएर राष्ट्रको गहनाको रुपमा स्थापित सावित्राको सम्मानार्थ साम्बा चोक स्थापना गरेका हौं ।”

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले सावित्रा भण्डारी जस्ता खेलाडीहरुले राष्ट्रलाई खेलका माध्यमबाट विश्वसामु परिचित गराएको बताए ।