काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास बढ्दै गएको छ । गभर्नर नियुक्तिका लागि बस्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट भएका हुन् ।
देउवा प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार गएनन् । गभर्नर नियुक्तिको प्रक्रियामा २ महिनादेखि दुई दलबीच द्वन्द्व चलिरहेको छ । गत चैत ११ गते गभर्नर सिफारिस समिति गठन भए पनि अहिलेसम्म एक-पटक पनि बैठक बसेको छैन। समिति दुई पटक पुनर्गठन भएको छ ।
एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले गरेको प्रस्तावअनुसार सोमबारसम्म सिफारिस समितिको बैठक बस्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने कांग्रेसको विश्वास थियो ।
तर, साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकअघि गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटार बोलाएका थिए । तर कांग्रेस सभापति देउवाले गभर्नरका विषयमा छलफल गर्न नजाने जवाफ पठाएका थिए ।
दुई दलबीच बढेको अविश्वासबारे छलफल गर्न कांग्रेस र एमाले दुवै आन्तरिक छलफलमा केन्द्रित भएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेस नेता गृहमन्त्री रमेश लेखक आन्तरिक छलफलका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्काको निवास पुगेका थिए ।
प्रधानमन्त्री ओलीले भने बालुवाटारमै निकट एमाले मन्त्री र नेताहरूसँग छलफल गरेको बताइएको छ । यसअघि पार्टीका दोस्रो तहका नेताहरूले प्रधानमन्त्री ओलीले कांग्रेसमाथि गरेको व्यवहारका विषयमा अविश्वास राख्दासमेत देउवाले प्रधानमन्त्रीको बचाउ र सरकारको पक्षमा खुलेर वकालत गर्दै आएका थिए ।


प्रतिक्रिया