अब एमालेसँग एकता सम्भव छैन : प्रचण्ड

अब एमालेसँग एकता सम्भव छैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब एमालेसँग एकता सम्भव नभएकाे बताएका छन् ।

मध्यपहाडी लोकमार्ग जनसंवाद अभियानका क्रममा जाजरकोटमा दाहालले कम्युनिष्ट एकताको सन्दर्भ उठेको भन्दै अध्यक्ष प्रचण्डले आफू नै कम्युनिष्ट एकताको प्रस्तावक भएको बताए ।

उनले भने, ‘मैले नै पार्टी एकता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाएको हुँ । तर, त्यो एकता किन टुट्यो ? त्यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन । हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ ।’

उनले जनताको सुझाव र आलोचना गम्भीररूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताएका छन् ।

संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोप्रति उनले सरकारको ध्यानाकर्षण गराए । संविधान कार्यान्वयनका लागि कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयकमा पनि प्रचण्डको जोड छ ।

यो अभियान पार्टीका कमजोरी सच्याउँदै जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास रहेको उनको भनाइ छ ।