लखनउका दिग्वेश राठी आईपीएलकाे एक खेलका लागि निलम्बित

लखनउका दिग्वेश राठी आईपीएलकाे एक खेलका लागि निलम्बित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली लखनउ सुपर जायन्ट्सका बलर दिग्वेश राठी एक खेलका लागि निलम्बित भएका छन् । उनलाई खेल शुल्कको ५० प्रतिशत जरीवाना पनि गरिएको छ ।

हिजो लखनउमा सनराइजर्स हैदराबादसँगको खेलमा दिग्वेशले आईपीएल आचारसंहिता उल्लंघन गरेका थिए । यस वर्ष पहिलो पटक आईपीएल खेलेका राठीले धेरै पटक आचारसंहिता उल्लंघन गरेका छन् ।

दिग्वेश अब लखनउको अर्को खेलका लागि निलम्बित रहनेछन् । लखनउले आफ्नो अन्तिम खेलमा पर्सि अहमदाबादमा गुजरात टाइटन्ससँग खेल्दैछ ।

हैदराबादका ओपनिङ ब्याटर अभिषेक शर्मालाई आउट गरेपछि लखनउका दिग्वेश राठीले आफ्नो ‘नाेटबुक सिग्नेचर’ शैलीमा खुशी मनाएका थिए । साथै राठीले अभिषेकलाई बाहिर जानका लागि आक्रामक हातको इशारा पनि गरेका थिए ।

तर राठीको यो ‘सेलिब्रेशन’ अभिषेकलाई मन परेन र उनले विरोध जनाए । त्यसपछि दुवै खेलाडीबीच भनाभनको अवस्था भएको थियो । पछि अम्पाएर र खेलाडी आएर स्थिति सामान्य बनाएका थिए । त्यही क्रममा हैदराबादका अभिषेकलाई पनि खेल शुल्कको २५ प्रतिशत जरीवाना गरिएको छ ।

यो खेलमा हैदराबादसँग हारेसँगै लखनउ प्लेअफ होडबाट बाहिरिएको छ । हैदराबाद यसअघि नै प्लेअफ होडबाट बाहिरिएको थियो ।