दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूको आन्दोलन राजनीतिक दल र व्यवस्थाविरुद्ध नभई जनताविरुद्धको भएको टिप्पणी गरेका छन् ।
मंगलबार गृहजिल्ला दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजावादीहरूले १५ जेठदेखि गर्ने भनेको आन्दोलन जनताविरुद्धको भएको टिप्पणी गरेका हुन् ।
‘गणतन्त्रले के दियो भन्दै भ्रम फैलाएर १५ जेठदेखि राजावादीले आन्दोलन गर्ने घोषणा गरेका छन् । त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाविरुद्धको होइन, नेपाली जनताविरुद्धको हो,’ उनले भने, ‘हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने ?’
महासचिव पोखरेलले राजसंस्था कहिल्यै जनताका पक्षमा नभएकाले गलत कुराका पछि नलाग्न आग्रह गरे । राजावादीले जनतालाई निरंकुशताको जाँतोमुनि पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै महासचिव पोखरेलले उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ताविरुद्ध प्रहार गरिरहेको बताए ।
प्रतिक्रिया