काठमाडौं । ‘पोहोर मरिन सासु, अहिले आए आँशु’ भन्ने उखान काठमाडौं महानगरपालिकासँग ठ्याक्कै मिल्न पुगेको छ । चैत २१ गतेको घटनालाई लिएर जेठ ६ गते काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगर निमित्त प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईले निमित्त प्रहरी प्रमुख पाण्डेलाई जिम्मेवारीबाट मुक्त गर्न स्पष्टिकरण सोधेको बताइएको छ । समाचारश्रोत भन्छ, ‘जिम्मेवारीमुक्त गर्नकै लागि स्पष्टिकरणको प्रकृया अघि बढाइएको हो ।’
यो स्पष्टिकरणले दुईवटा शिकार गर्ने तयारी केपी ओली नेतृत्वको सरकारले गरेको छ । महानगर उपप्रमुख सुनिता डंगोल र एमालेबाट निर्वाचित वडाध्यक्षहरुको समर्थनमा याे तयारी भएको बुझिएको छ । पहिलो शिकार मेयर बालेन्द्र (बालेन) साहलाई नै बनाउने तयारी छ । निर्वाचित मेयरलाई डिमोरलाइज गर्ने र महानगर प्रहरीको जिम्मा उपप्रमुख सुनिता डँगोलको नजिकको मान्छेलाई दिने तयारी छ ।
पाण्डेलाई ७ दिनभित्र त्यसको कारणसहित जवाफ दिन भनेका छन् । गुरागाईं २१ चैतमा उपप्रमुख डंगोल र एमाले सम्वद्ध कर्मचारीको सहयोगमा कार्यालय प्रवेश गरेका थिए ।
त्यसअघि काठमाडौंका मेयर बालेनले गुरागाईंलाई निलम्बन गरेका थिए । तर, सरकारले फेरि गुरागाईंलाई नै कार्यकारी बनाएर पठाएपछि साहले पाण्डेमार्फत उनलाई कार्यालय प्रवेशमा रोक्न खोजेका थिए । पछि पाण्डेले कार्यकारी अधिकृत गुरागाईंलाई भेटेर माफी मागेका थिए ।
प्रतिक्रिया