राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त



काठमाडौं । सरकारले गभर्नरमा प्रा.डा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

अर्थशास्त्री पौडेल राष्ट्र बैंकको १८ औं गभर्नर बनेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिबारे छलफलमा सहमति जुटेपछि गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।

त्यस लगत्तै अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिको बैठकले प्रा. डा. पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

चितवनका पौडेल गत संसदीय निर्वाचनमा चितवन क्षेत्र नं १ बाट काँग्रेस उम्मेदवार बनेर तेस्रो भएका थिए । यसअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए, जसबाट राजीनामा दिएर संसदीय राजनीतिमा गएका थिए ।

पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक समेत हुन् ।

विश्व बैंकमा अल्पकालीन परामर्शदाता र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको भूमिकामा काम गरेको उनको अनुभव छ ।

उनले यसअघि सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक तथा युलेन्स स्कुलको बोर्ड ट्रस्टीको सदस्यको रूपमा काम समेत गरेका छन् ।