काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको जिकिर गरेका छन् ।
बुधवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले प्राधिकरणको वित्तीय अवस्थाबारे अन्यौल भइरहेको अवस्थामा विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका हुन् ।
श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको बताउँदै खड्काले अब चाँडै अडिट हुने जानकारी गराए ।
महालेखाले प्राधिकरण घाटामा रहेको तथ्याङ्क दिने र तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाउने कामले द्विविधा उत्पन्न भएकाले नै सो समयमा अडिट गर्ने निर्णय गर्दा कुलमानले निर्णय कार्यान्वयन गर्न नमानेको उनको भनाइ छ । मन्त्री खड्काले प्राधिकरण नाफामा रहेको कुरामा सत्यता नरहेको दाबी गरे ।
मन्त्री खड्काले लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन् । उनले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका आएकाे भन्दै मर्मत सम्भारका लागिबाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ् नहुने पनि बताए ।
मन्त्री खड्काले बेला बखत विद्युत विच्छेद हुने अवस्था आज मात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको बताए । गत वर्षमा पनि वर्षमा ७ सय घन्टासम्म यसरी विभिन्न पटक विद्युत गएको उनको दाबी थियो ।
‘यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्यौं । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो । अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १५० मेगावाट निर्यात गरेका छौं । हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौं । लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो,’ उनले भने ।
उनले विदेशबाट समेत फोन गरेर बत्ती गयो भन्दै अनावश्यक दुःख दिन थालिएको बताएका हुन् ।
‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन् । यसरी भ्रम फैल्याउने काम भएको छ । पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने,’ उनले भने ।
प्रतिक्रिया