भैरहवा विमानस्थल अध्ययन उपसमितिमा माओवादीलाई नराखेकाेमा आपत्ति

भैरहवा विमानस्थल अध्ययन उपसमितिमा माओवादीलाई नराखेकाेमा आपत्ति



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो प्रतिनिधित्व नगराइएकोमा आपत्ति जनाएको छ ।

बुधबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा माओवादी केन्द्रका सांसद राजन दाहालले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो दलका सांसदलाई नराखिएकोमा आपत्ति जनाएका हुन् ।

‘समितिले भैरहवा विमानस्थल अध्ययन उपसमिति बनाएको छ । तर, त्यो उपसमितिमा माओवादी केन्द्रलाई सहभागी नगराएकोमा गम्भीर आपत्ति छ,’ उनले भने ।

यसअघि लेखा समितिले कांग्रेस सांसद मञ्जु खाँणको संयोजकत्वमा भैरहवा विमानस्थल अध्ययन उपसमिति बनाएको थियो । उक्त उपसमितिमा एमालेका योगेश भट्टराई, सराज अहमद फारुकी र अच्युतप्रसाद मैनाली, कांग्रेसका श्यामकुमार घिमिरे, रास्वपाका मनिष झा, राप्रपाका विक्रम पाण्डे र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सदस्य छन् ।