काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन मात्र परेका छन् ।
सातौँपटकसम्म ‘हेर्न नमिल्ने’मा परेर गत मंगलबारदेखि सुनुवाइ भएको उक्त मुद्दामा मंगलबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बुधबार संवैधानिक इजलासका कारण रविको मुद्दा आजका लागि पेसी तोकिएको थियो ।
मंगलबार रवि लामिछानेका तर्फबाट १० जना वकिलले बहस गरेका थिए । आफ्नो पति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै निकिता पौडेलले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् ।
निकिताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ, कारागार कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।
आज सुनुवाइको सुरुमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन् । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीका कानुन व्यवसायी तथा पीडित र सरकारी वकिलको बहस सुरु हुनेछ ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।
प्रतिक्रिया