काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबिच बिहीबार टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री डा. राणा र जापानी विदेशमन्त्री ताकेसीबिच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।
त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेका थिइन् ।
उनीहरुका बिचमा नेपाल जापान सम्बन्धको ७० वर्षे इतिहासका विविध पक्षहरुमा पनि कुराकानी भयो । नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउँदै छन् ।
त्यस भेटका अवसरमा मन्त्री डा. राणाले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । मन्त्री डा. राणाले त्यस अवसरमा नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई सहयोगका लागि जापानसँग आग्रह गरेकी थिइन् ।
मन्त्री डा. राणाले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरूलाई प्रोत्साहित गरिदिन विदेशमन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेका र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चितता प्रदान गर्ने पनि बताइन् ।
परराष्ट्रमन्त्री डा राणाले नेपाल र जापानबिच औपचारिक कूटनीतिक सम्बन्ध भन्दा पनि सिदयौँ पुरानो सम्बन्ध रही आएको प्रसंग उल्लेख गर्दै भनिन् “दुई देशबिच भगवान गौतम बुद्धको शिक्षाबाट प्रेरित प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी नेपाल र जापानी नागरिकबिचको एक सांस्कृतिक सेतु पनि हो ।”
प्रतिक्रिया