काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन ट्रफीसहित सुदूरपश्चिमका नौवटै जिल्लाको यात्रा सुरु गरेको छ।
एनपिएलको तेस्रो संस्करणको उपाधि जितेपछि समर्थकसँग खुसी साट्न र प्रदेशभर क्रिकेटको उत्साह फैलाउन रोयल्सले अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धामबाट ट्रफी यात्रा थालेको हो।
शनिबार बिहान बैद्यनाथ धाममा पूजाआराधना तथा स्वस्तिवाचन गरेपछि ट्रफी यात्राको औपचारिक शुभारम्भ गरिएको थियो। मन्दिरबाट ट्रफीसहित निकालिएको र्याली साँफेबगरसम्म पुगेको थियो।
रोयल्सले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अछामबाट सुरु भएको ट्रफी यात्रा शनिबार नै बाजुरा पुग्नेछ। मंसिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला र १७ गते बझाङ पुर्याइनेछ। मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी प्रदर्शन गरिने कार्यक्रम छ।
मङ्सिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी यात्रा हुनेछ। कैलालीको टीकापुर पार्कबाट सुरु हुने र्याली चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ। त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधाराचाँदनी पुलसम्म ट्रफीसहित र्याली निकालिनेछ।
ट्रफी यात्राको अन्तिम दिन मंसिर २० गते धनगढीमा र्याली तथा सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले जनाएको छ।


प्रतिक्रिया