एमालेको जम्बो टोली लिएर पूर्वराष्ट्रपति भण्डारी दशदिने भ्रमणमा चीन जाने

एमालेको जम्बो टोली लिएर पूर्वराष्ट्रपति भण्डारी दशदिने भ्रमणमा चीन जाने



काठमाडौं । नेकपा एमालेको जम्बो टोली लिएर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दशदिने चीन भ्रमणमा जाने भएकी छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा जेठ १० गते चीन भ्रमणमा जान लागेकी हुन् ।

उनको भ्रमण दलमा एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रहेका पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित आठ सदस्य सहभागी हुनेछन् ।

यसबाहेक एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले नेतृ एवं पूर्वसांसद गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदाका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा. महेन्द्र विष्ट हुनेछन् ।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीबिच छलफलपछि भ्रमण तय भएको र सोहीअनुसार भ्रमणको स्वामित्व सरकार र एमाले दुवैले लिने गृहकार्य गरिएको बताइएकाे छ ।

भण्डारी सुरुमा बेइजिङ, त्यसपछि गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर स्वदेश फर्किने गरी दश दिनको भ्रमण–तालिका तय भएको छ ।

कार्यतालिकाअनुसार शनिबार राति काठमाडौंबाट ग्वान्जाओ हुँदै उनी आइतबार बेइजिङ पुग्नेछिन् । आइतबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आयोजित स्वागत समारोह तथा रात्रिभोजमा भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । रात्रिभोजमा चीनको छिमेकी मुलुकहरूबाट आमन्त्रित नेताहरूसमेत सहभागी हुने कार्यक्रम छ ।