राजसंस्थाबारे देउवाले सोच्दै नसोचेको कुराको भ्रम छरियो : कांग्रेस

राजसंस्थाबारे देउवाले सोच्दै नसोचेको कुराको भ्रम छरियो : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले राजसंस्थाबारे पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनेर चर्चा भइरहेको विषयबारे आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्तिमार्फत कांग्रेसले देउवाको भनाइका नाममा भ्रामक र कपोलकल्पितरूपमा प्रचारप्रसार गरिएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।’

“कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,” विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले अगाडि भनेको छ, “जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।”

कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न प्रतिवद्ध रहेको दोहोर्‍याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गरेको छ ।