कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन : सभापति खतिवडा

कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन : सभापति खतिवडा



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा उल्लेख कुलिङ पिरियडको प्रावधानबाट समिति पछि नहट्ने स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खतिवडाले लामो छलफल र बिज्ञहरुसंगको परामर्शपछि विधेयक पारित भएको भन्दै अहिले नै त्यसका रहेको कुलिङ पिरियडको प्रावधानबाट पछि हट्न वा संशोधन गर्न नसकिने स्पष्ट पारेका हुन् ।

सभापति खतिवडाले फ्रेस हुनका लागि निजामती कर्मचारीहरूलाई कुलिङ पिरियडको व्यवस्था राखिएको पनि बताए । साे विधेयक उनले संसद्‌मा छिटो पठाउनुपर्ने बताए ।

‘समितिले गर्ने निर्णय समितिकै हुन्छ । यहाँको निर्णय संसद्मा जान्छ, अहिले समिति आफूले गरेको निर्णयमा छिटोभन्दा छिटो सदनमा लैजाने गर्छ,’ खतिवडाले भने ।

बाहिरिएको भोलिपल्टै अर्को कुनै निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द देखिने भएकाले कुलिङ पिरियडको प्रावधान ल्याएको बताए ।

‘कुलिङ पिरियड भनेको, भारत, बंगलादेश, अमेरिकामा पनि छ । हामीले कोही कर्मचारीलाई अविश्वास गरेका होइनौं । उहाँहरू ३० वर्षसम्म सेवा गर्नुभएको छ, त्यसपछि दुईवर्ष रिचार्ज गर्नुहोस्, फ्रेस हुनुस् । यसको मतलब बाख्रा चराउनुस्, नातिनातिना खेलाउनुस् भनेको छैन नि,’ खतिवडाले भने ।

सभापति खतिवडाले कुलिङ पिरियडको बिषयमा मुख्यसचिव लगाएतका सचिवहरुको चासो अस्वभाविक रहेको बताए ।

‘निजामती विधेयक भनेको कर्मचारीको संविधान हो । अब यो विधेयक बनाउने काम संवैधानिक असंवैधानिक के हो भन्ने जिम्मा तपाईंको र मेरो होइन । त्यसको अर्कै निकाय छ । हामीले एउटा निर्णय गरिसकेका छौं, त्यो पनि सर्वसम्मत,’ उनले भने, ‘रिचार्ज भएर देशका लागि आवश्यक पर्दा आउनुस् । चाहियो भने जतिबेला पनि सरकारले लिनसक्छ ।’