शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन



जनकपुर । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएकाले यसमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार जनकपुरमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिएका हुन् ।

उनले विकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए । १० वर्षको सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको स्थिति कमजोर भएकाले विकासका काम अवरुद्ध भएको उनले बताए ।

सिमानाकाबाट हुने चोरीपैठारीले राजस्व घटिरहेको, आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको भन्दै मन्त्री लेखकले यसलाई नियन्त्रणका लागि मेहनतका साथ लाग्न आग्रह गरे। उनले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनुपर्ने जोड दिए ।

उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताए । देशभर आत्महत्याका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रूपमा आएको उनले बताए ।