काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणलाई व्यवस्थित र गोप्य राख्न मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट तयारीका अन्तिम चरणमा गोपनियता कायम गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवेशद्वारहरू बन्द गर्न थालिएको छ भने प्रहरी समेत तैनाथ गरिएको छ ।
प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार गत वैशाखमा विभिन्न सरोकारवालासँग परामर्श र सुझाव संकलन पूरा भइसकेको छ । उनले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।’
गत वैशाखमा मन्त्रालयले सबै पक्षलाई सहज पहुँच प्रदान गरी छलफल र सुझाव संकलन गरेको थियो । अब भने बजेटको अन्तिम तयारीमा मन्त्रालय केन्द्रित छ ।
आगामी जेठ १५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्ने छन् ।
प्रतिक्रिया