तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध आज मुद्दा दर्ता हुने

तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध आज मुद्दा दर्ता हुने


ग्लोब नेपाल
351
Shares

काठमाडौं । राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ताको तयारी गरेको छ ।

प्रहरीले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन बुझाएलगत्तै सरकारी वकिलको कार्यालय आज अभियोजनको तयारीमा जुटेको होसंगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको समय सकिन लागेकाले मुद्दा दर्ता प्रक्रिया अघि बढाएको हो ।

प्रहरीले अनुसन्धान प्रतिवेदनमा ६१ जनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ । दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर लगायत मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

त्यस्तै, रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा अभियोग लगाउने तयारी छ । घटनामा संलग्न रहेको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेकोमा ५३ जना प्रहरी हिरासतमा रहेका छन । अरु हाजिरी जमानीमा रिहा भएका छन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजा फर्काउन भन्दै भएको प्रदर्शनमा सञ्चारकर्मी सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो । प्रहरीका अनुसार उक्त घटनामा ५६ करोड रुपैयाँभन्दा धेरैको धनमालमा आगजनी भएको थियो ।