पोखरा । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुने भएको छ । निर्वाचनका लागि शनिबार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइएको छ ।
संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महाचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
पोखरामा शुक्रबारदेखि जारी १० औं महाधिवेशनका क्रममा अध्यक्षका दुई दाबेदारमध्ये दुबैले दाबी नछाड्दा निर्वाचन तयारी गर्नुपरेको हाे । यद्यपि सर्वसम्मतको प्रयास पनि जारी राखिएको बताइएकाे छ ।
थेबेलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संघका पूर्वअध्यक्ष महेश बस्नेत लगायतले समर्थन जनाएका छन् ।
पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन छ ।
अहिले प्रतिनिधिका विषयमा छलफल भइरहेको र छलफल सकिएपछि उम्मेदवारी दर्ताका प्रक्रिया सुरू हुने एक नेताले जानकारी दिए ।
युवा संघको दसौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सक्ने कार्यतालिका छ । महाधिवेसनमा सहभागी हुन सबै पालिका, जिल्ला, प्रदेश गरी १ हजार ८३६ जना प्रतिनिधी पोखरामा छन् ।
प्रतिक्रिया