काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्व निकै सक्रिय भएको टिप्पणी गरेका छन् । वागमती प्रदेशका वडाअध्यक्षहरूको प्रशिक्षणमा उनले आफूहरू चुप लागेकाले प्रतिगामीको मनोबल बढेको बताए ।
“प्रतिगामी तत्वहरू निकै धेरै सक्रिय छन् । हामी चुपचाप लागेकाले उनीहरूको मनोबल उठेको छ । हाम्रो मनोबल सधैँ उच्च रहनुपर्ने,” उनले भने, “हाम्रो मनोबल चाहिँ त्यति दह्रो नहुने, प्रतिगामी सोझै लाज नमानी तिमीहरू रैती भएर बस । म राजा हुन्छु भनेर एउटा भन्छ ।”
उनले राजावादीलक्षित गर्दै केही व्यक्तिहरूले आफूहरू रैती हुन्छौँ भनेर वरिपरि घुम्ने गरेको टिप्पणी समेत गरे । “केही रैतीहरू गएर बिहान–बेलुका नै उसको वरिपरि घुमिरहेका छन् । हामी रैती हुन तयार छौँ प्रभु । हामीलाई कुनै अधिकार चाहिँदैन, जीवजन्तु जस्तै हौँ । दिएको घाँस, पानी खान्छौँ । घाँसकुडोले जिन्दगी चलाउँछौँ, जे हुन्छ प्रभुको भक्ति गाउँछौँ, बस्छौँ कुनै स्वाभिमान चाहिएको छैन हजुर,” उनले कटाक्ष गरे, “जनता सार्वभौम, नागरिक सर्वोच्चता हामीले बुझेका छैनौँ, यो चाहिँदैन भनेर दलालीमा केही मान्छे समर्पित छन् । उनीहरूले उक्स्याएका छन् ।”
उनले डिजिटल प्लेटफर्म, सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काम गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले सहकारी काण्डका लुटेरा र ठगहरूले नै एमालेविरुद्ध औंला ठड्याउने गरेको आरोप लगाए । उनले भने, ‘हाम्रो पार्टीले पो सहकारीमा भ्रष्टाचार गरेजस्तो गरी हामीविरुद्ध औंला ठड्याएर सहकारी, सहकारी भन्दै हल्ला मच्चाइएको छ।’
प्रधानमन्त्री ओलीले सहकारी लुटेराहरू र ठगहरू नै अहिले आफैंलाई निर्दोष देखाउँदै न्याय दिने भाषण गरिरहेको दाबी गरे। उनले कटाक्ष गर्दै भने, ‘उनीहरू उल्टै सहकारी पीडितलाई न्याय दिन्छौं भनेर वेसरम कुरा गर्छन् । नारा लगाउने, आफूले खाएको नतिर्ने, फिर्ता नगर्ने अनि भ्रष्टाचारविरुद्ध ठूला स्वर गर्नु कति निर्लज्ज !’
साथै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि कटाक्ष गरे । ‘प्रचण्डको स्वर हेर्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक गर्छन्,’ ओलीले भने, ‘भ्रष्टहरूले नै भ्रष्टाचारविरुद्ध भाषण गर्ने अवस्था छ अहिले ।’
प्रधानमन्त्री ओलीले माओवादीले एमालेको सिको गर्दै मेची–महाकाली अभियान थाले पनि त्यो अभियानले जनसागर उर्लन नसकेको दाबी गरे। ‘एमालेको अभियानमा जनसागर उर्लिए पनि माओवादीको कार्यक्रममा त्यो देखिँदैन,’ उनले थपे ।
प्रतिक्रिया