काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरको निरीक्षण गर्दै निर्माण कम्पनीलाई कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
उनले जेठ महिनाको अन्तिमसम्म फ्लाईओभर पूर्ण रूपमा सवारी सञ्चालनको लागि तयार हुनुपर्ने स्पष्ट पारे। “अब ढिलाइ सह्य छैन, कुनै अप्रत्याशित प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्यदेखि नै गाडी चल्नुपर्नेछ,” मन्त्री दाहालले भने।
फ्लाईओभरको निर्माण लागत करीब १७ करोड ६ लाख ८८ हजार रुपैयाँ रहेको छ। प्रारम्भिक सम्झौताअनुसार निर्माण कार्य २०८० फागुन ११ गतेभित्र सम्पन्न हुने भनिए पनि हालसम्म पूरा भइसकेको छैन।
अब बाँकी रहेको संरचनात्मक कार्य, ट्राफिक लाइट जडान र सवारीका लागि आवश्यक अन्य व्यवस्थाहरू जेठ महिनाभरमा सम्पन्न गरिने जानकारी मन्त्रीले दिएका छन्।
प्रतिक्रिया