लिभरपुल, आर्सनलसँगै सिटी, चेल्सी र न्युक्यासल पनि च्याम्पियन्स लिगमा

लिभरपुल, आर्सनलसँगै सिटी, चेल्सी र न्युक्यासल पनि च्याम्पियन्स लिगमा



काठमाडौं । लिभरपुल, आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । इंग्लिस प्रिमियर लिगको अन्तिम दिन हिजोको नतिजासँगै सिटी, चेल्सी र न्युक्यासलको च्याम्पियन्स लिग यात्रा तय भएको हो ।

सिटीले फुलहमलाई २–० ले हरायो । यो जितसँगै सिटीले तेस्रो स्थानमा प्रिमियर लिगको अन्त्य गरेको छ । ३८ खेलबाट सिटीले ७१ अंक जोड्यो । ५४ अंकसहित फुलहम ११औं स्थानमा रह्यो ।

चेल्सीले नटिङ्घम फरेस्टलाई १–० ले पराजित गर्‍यो । ६९ अंकसहित चेल्सीले चौथो स्थानमा लिग टुङ्ग्यायो र नटिङ्ङ्घमले च्याम्पियन्स लिग छनोट हुन असफल रह्यो । नटिङ्घम ६५ अंकसहित सातौं स्थानमा रह्यो । न्युक्यासल एर्भटनसँग १–० ले पराजित भयो ।

हारका बाबजुद ६६ अंकसहित पाँचौं स्थानमा रहँदै न्युक्यासल च्याम्पियन्स लिगमा पुगेको छ । एभर्टनले ४८ अंकसहित १३ औं स्थानमा रह्यो । शीर्ष पाँच टोलीसहित युरोपा लिग च्याम्पियन टोटनहम गरि प्रिमियर लिगका छ टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ ।

लिगको अन्तिम दिनका अन्य खेलमा टोटनहम ब्राइटनसँग ४–१ ले पराजित भयो । च्याम्पियन लिभरपुल क्रिस्टल प्यालेससँग १–१ को बराबरी रोकियो । खेलपछि लिभरपुलको लिग उपाधि उचाल्यो ।

दोस्रो स्थानको आर्सनलले साउथ ह्याम्टनलाई २–१ ले, बोर्नमाउथले लेस्टर सिटीलाई २–० ले, वेस्ट हमले इप्स्विचलाई ३–१ ले, म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–० ले हरायो । उल्भ्स र ब्रेनफोर्डले १–१ को बराबरी खेले ।