काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै सबै कार्यपालिका सदस्यहरुले मेयर बालेन शाहलाई पत्र बुझाएका छन् । उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन् ।
पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ । पछिल्लो समय आफ्नै कार्यशैलीका कारण महानगरभित्र बालेन एक्लिँदै गएका छन् ।
कम्तिमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न सकेको छैन । महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णय लगायत पनि अन्योलमा पर्दै आएका छन् । कार्यपालिका सदस्य नवीन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन ।’
महानगरका प्रमुखले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएको भन्दै मेयरलाई घचघच्याउने काम गरेको उनीहरूले बताएका छन् ।
बैठक माग गर्ने पत्रमा रास्वपाबाट निर्वाचित एक मात्र वडाध्यक्ष रोजिना श्रेष्ठले पनि हस्ताक्षर गरेकी छन् । उनी निर्वाचित भएपछि महानगरपालिकाको कार्यपालिका बैठक एक पटक पनि बस्न सकेको छैन । केहिसमय अघि उपप्रमुख डंगोलले कोठामा बसेर निर्देशन नदिन प्रमुख बालेनलाई चेतावनी दिएकी थिइन् ।
प्रतिक्रिया