सर्वोच्च अदालतको आदेश अपूर्ण र अन्यायपूर्णः रास्वपा

सर्वोच्च अदालतको आदेश अपूर्ण र अन्यायपूर्णः रास्वपा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, बेल सुनुवाईुमा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुन गई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको छ ।’

हिजो आइतबार बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सरकारद्वारा सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको यथार्थलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राजनीतिक प्रतिशोधु को रुपमा चित्रित गर्दै आएको छ । रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ । दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति एवं ‘प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान’ को अवधारणा पत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देश-विदेशमा रहेका आम नेपालीहरु माझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ । यस अभियानका संयोजक सहकोषाध्यक्ष दीपक बोहरालाई तोकिएको छ।’

‘गृहमन्त्री र उनको सचिवालय नै ‘भिजिट भिसाू मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भई पार्टीले यसअघि नै प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भन्ने दृष्टान्त अनुरुप “यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको” सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको’ विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले तेश्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरु आयोजना गर्ने साथै यस अवसरमा पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म एवं प्रवासमा समेत स्वतः स्फूर्त रुपमा विभिन्न कार्यक्रमहरु गर्ने समेत निर्णय गरेको छ ।