कम्युनिष्ट एकताको नेतृत्व गर्न विद्या भण्डारीलाई चिनियाँ नेताको सुझाव

कम्युनिष्ट एकताको नेतृत्व गर्न विद्या भण्डारीलाई चिनियाँ नेताको सुझाव



काठमाडौं । चीनले १० दिने लामो भ्रमणमा गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रुपमै नेपालको वरिष्ठतम नेताको मान्यता दिएकाे छ ।

गत शनिवार राती एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीलाई चिनियाँ नेताहरुले नेपालका कम्युनिष्ट पार्टीहरुको एकताको नेतृत्व गर्न सुझाएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ झियाचाओलगायतका नेताहरुले पूर्वराष्ट्रपति भण्डारीसँगको भेटवार्तामा नेपालको वरिष्ठतम नेता भन्दै वाम एकताको नेतृत्व गर्न सुझाव दिएको भ्रमण दलमा रहेका एक एमाले नेताले बताए ।

पूर्वराष्ट्रपति भण्डारीले आज चिनियाँ नेताहरुसँग भेटवार्ता गर्दा र हिजो बैंक्वेट डिनरमा आफू सामान्य नेपाली नागरिक भन्दा चिनियाँ नेताहरुले तपाईं नेपालको विशिष्ट नेता हो भन्दै उच्च सम्मान दिएका थिए । जनताको बहुदलीय जनवादको बारेमा पूर्वराष्ट्रपतिले औपचारिक समारोहको भाषणमा पनि व्याख्या गरिन् । त्यही सिद्धान्तमा टेकेर नेपालको कम्युनिष्ट मुभमेन्टको नेतृत्व विद्या भण्डारीले गर्नसक्ने अपेक्षा चिनियाँ नेताहरुको छ ।

चीनको १० दिने भ्रमणका क्रममा आइतबार राजधानी बेइजिङ पुगेकी पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई समेत सम्बोधन गरिन् ।

त्यसैगरी पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमाले जननेता स्वर्गीय मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तमा अघि बढेको जानकारी विश्व समुदायलाई दिएकी थिइन् ।

उनको भ्रमण टोलीमा उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनसहित १४ जनाको टोली सहभागी छन् ।