भिजिट भिसा प्रकरण : विपक्षीले मागे गृहमन्त्रीको राजीनामा

भिजिट भिसा प्रकरण : विपक्षीले मागे गृहमन्त्रीको राजीनामा



काठमाडौं । संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।

बैठकमा ‘भिजिट भिसा’ प्रकरणमा नैतिकताका आधारमा मार्गप्रशस्त गर्न उनीहरूले आग्रह गरेका हुन् ।

माओवादीका उपमहासचिव पुनले भिजिट भिसामा गृहमन्त्रीको सचिवालयको संलग्नता देखिएको समाचार आइरहेको बताए । उनले अनुसन्धानका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे ।

“राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुस्,” उनले भने । उनले राजीनामा नदिए सदनको कारबाही अघि बढ्न नदिने चेतावनीसमेत दिए ।

विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएको छ । रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिन आयोग गठन गर्नुपर्ने बताए ।

“संगठित ढंगले गरिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ संगठित अपराध र सम्पत्ति शुद्धीकरण हेर्नेगरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन,” उनले भने ।

उनले कर्मचारीले नागरिकता बनाउन घुस मागेको जस्तो विषय नभएको बताए । “एक कर्मचारीले नागरिकता बनाउन गएको बेला घुस मागेको जस्तो विषय होइन । मेनपावरदेखि एयरलाइन्ससम्म कर्मचारीदेखि मन्त्रीसम्मको सचिवालय जोडिएको छ । प्रश्न गृहमन्त्रीमाथि उठेको छ । अनुसन्धान हुनुपर्छ । राजीनामा आउनुपर्छ,” उनले भने ।