अभियुक्त गृहमन्त्रीले अब बयान दिने हो, भाषण होइन : राजन दाहाल

अभियुक्त गृहमन्त्रीले अब बयान दिने हो, भाषण होइन : राजन दाहाल



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भिजिट भिसा प्रकरणमा गृह प्रशासनको संस्थागत संलग्नता भएको दाबी गरेका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब गृहमन्त्री रमेश लेखकले जवाफ नभई राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो । अब बयान दिने हो, जवाफ दिने होइन । अब उहाँ अभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ? अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा बयान दिने हो, जवाफ दिने होइन । राजीनामा दिनुपर्छ । राजीनामा हाम्रो प्रष्ट माग छ । त्योभन्दा दायाँबायाँ हुँदैन । गृहमन्त्रीको राजीनामा नआई सदन अगाडि बढ्दैन । ’

उनले यो सरकार बनेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिएको दाबी गरे ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल बन्द छ, बेचन झाको बयान पनि भएको छैन अहिलेसम्म । बयानै नभई जेल बसेका पहिलो पात्र होलान् । अहिले बजारमा सिटामोल काण्ड आएको छ, यसको सत्यतथ्य अनुसन्धान गर्नुपर्छ ।’