भिजिट भिसा प्रकरण मानवतस्करी हो : गणेश पराजुली

भिजिट भिसा प्रकरण मानवतस्करी हो : गणेश पराजुली



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानवतस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाए ।

अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीलाई बेच्ने प्रकरणमा राज्यका निकाय नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको विषयमात्रै हुन नसक्नेमा उनले जोड दिए ।

सांसद पराजुलीले भिजिट भिसामार्फत मानवतस्करीको विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीलाई बचाउनका निम्ति रातारात सरुवा गर्ने काम गरेको आरोप लगाए ।

गृहमन्त्री लेखकलाई दोषीसँग जोडेर हेर्ने शंकाको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनले बताए ।