काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम फेरि सतहमा देखिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालै गरिएको परीक्षणमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पोजेटिभ देखिएका सातमध्ये एकजना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका हुन् भने बाँकी ६ जना काभ्रे जिल्लाका बासिन्दा हुन्। यिनीहरूमध्ये कसैको हालसालैको भारत यात्रा नभएकोले संक्रमण स्थानीयस्तरमै फैलिएको हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ। तर, छिमेकी भारतमा दिनदिनै संक्रमण दर बढिरहेकोले नेपालमा पनि त्यसको प्रभाव देखिन सक्ने स्वास्थ्य विज्ञहरूको अनुमान छ।
पछिल्लो लहरमा देखा परेको कोरोना भाइरसको प्रकार पहिलेभन्दा कमजोर भए पनि वृद्धवृद्धा र दीर्घरोगीहरूका लागि भने सावधानी अपनाउनु आवश्यक रहेको जनाइएको छ। त्यसैले समयमै सतर्कता र स्वास्थ्य सुरक्षामा ध्यान दिन महाशाखाले सबैलाई आग्रह गरेको छ।


प्रतिक्रिया