काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको एक कार्यक्रममा १५ जेठमा ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्तिप्रति राजावादी नेताहरुले आपत्ति जनाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाए । मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो,’ उनले भने ।
संविधानले दिएको स्वतन्त्रता सरकारले कुण्ठित गर्न खोजेको उनको आरोप छ ।
‘हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेका छन् । पत्रकारहरूले यसमा निष्पक्ष भएर समाचार सम्प्रेषण गरिदिनु पर्यो,’ लिङ्देनले भने ।
राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् ।
त्यसैगरी राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारको रबैयाका कारण १५ जेठको कार्यक्रम पनि १५ चैतकै जस्तो होला कि भन्ने डर रहेको बताएका छन् ।
सम्पादकहरूसँगको छलफलमा सुवेदीले भने, ‘हामी निर्णायक आन्दोलनमा छौं । हाम्रो आन्दोलन अहिंसात्मक हुन्छ । तर, सरकारको रबैया १५ चैतकै जस्तो होला कि भन्ने डर छ ।’
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीकाे अभिव्यक्तिप्रति सुवेदीले पनि आपत्ति जनाएका हुन् ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ । त्यसैले तपाईं पत्रकारहरू साक्षी बसिदिनुस् भनेर गुहार माग्न आएका हौं,’ सुवेदीले भने ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय आएको बताएका छन् ।
१५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरू अहिले भइरहेको छलफलमा थापाले यस्तो बताएका हुन् ।
उनले केही समयदेखि पानी बाराबारको अवस्थामा रहेका राजावादीहरू अहिले एक ठाउँमा आएको भन्दै उनले अहिले आफ्ना एजेन्डाका लागि सर्वाधिक अनुकुल समय आएको बताए ।
‘पानी बाराबारको अवस्थाबाट राजावादी एक ठाउँमा उभिने अवस्थामा पुग्यौं,’ अध्यक्ष थापाले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खारेजीका लागि यो सर्वाधिक अनुकुल अवस्था आएको छ भन्ने रियलाइजेसन भएको छ ।’
उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रिएलाइजेशन महत्वपूर्ण रहेको बताए ।
वर्तमान सरकारले गणतन्त्रको विरोध गर्नु राज्यद्रोह हो भन्ने खालको कानुन बनाउन खोजेको थापाको भनाइ छ ।
प्रतिक्रिया