विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हालै आफ्नो विषयमा कुराकानी केन्द्रित रहेको सुन्दा अचम्म लागेको टिप्पणी गरेका छन् ।
मंगलबार नेता कोइरालाले विराटनगरमा आयोजित कार्यक्रममा सभापति देउवा निवासमा भएको उक्त छलफलप्रति लक्ष्य गर्दै अचम्म लागेको बताएका हुन् ।
‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ उनले भने ।
कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रुपमा कहिँकतै नबोलेकोमा आफू छक्क परेको बताए ।
जेठ १२ गते सभापति देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक भएको थियो । उक्त बैठकमा गृहमन्त्री रमेश लेखकबारे अभिव्यक्ति दिएका शेखर कोइराला, राजेन्द्र बजगाई र सुनिल शर्मालाई स्पष्टीकरण सोध्नुपर्ने विषय उठेको थियो ।
नेता कोइरालाले कांग्रेसका नेता कार्यकर्ताहरूले गलतलाई गलत भन्न सिक्नुपर्ने बताए ।
उनले भने, ‘कति बोलेको भन्छन्, गाह्रो स्थिति छ, बोलेन भने किन बोलेन भन्छन्, बोल्यो भने किन बोलेको भनेर आइरहेको छ । तर, हामीहरूले गलत काम गर्न हुँदैन । हामी बीपी कोइरालाका चेलाहरू भयौँ । हामीले समाजमा गलत प्रचार हुने काम गर्न हुँदैन । जसले कांग्रेसलाई कमजोर बनाओस्, त्यस्ता काम हामीहरूले नगरौँ ।’
उनले राजनीति गर्नेहरूले नैतिकता र संस्कारमा अडेर बस्नुपर्ने बताए । उनले कांग्रेस अहिले सरकारमा भएपनि सत्तामा नभएको दोहोर्याए ।
उनले थपे, ‘सत्तामा एमाले छ । सरकार बस्ने मन्त्रीहरू र हाम्रो सभापति सहकार्य गरेर अगाडि बढ्नुहोस् । हामी बाहिर भएकाहरूले गलत काम भइरहेको छ भने त्यसलाई जनतामा लान जरुरी छ । हामी सरकारमा छौँ भनेर चुप लागेर बस्न मिल्दैन । हाम्रो भोलिको प्रतिस्पर्धी एमाले नै हुन्छ ।’
उनले एमाले नेतृत्वको सरकारले गरेको गलत कामलाई गलत भन्ने सके कांग्रेसको भविष्य उज्ज्वल रहेको जिकिर गरे ।
प्रतिक्रिया