गृहमन्त्रीले राजीनामा दिनु नै बुद्धिमानी हुन्छ : कांग्रेस सांसद शर्मा

गृहमन्त्रीले राजीनामा दिनु नै बुद्धिमानी हुन्छ : कांग्रेस सांसद शर्मा



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु बुद्धिमानी हुने टिप्पणी गरेका छन् । मंगलबार (जेठ १३) संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले सदनमै स्वतन्त्र छानबिनको माग उठाइएकाले गृहमन्त्रीले मार्गप्रशस्त गर्नु नै बुद्धिमानी हुने बताएका हुन् ।

“स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ । मलाई लाग्छ, बेलुकासम्म केही आउला । नआए दुई/चार दिनभित्र आउला, किनभने १५ गते बजेट भाषण छ,” उनले भने, “बुद्धिमानी कुरा र नैतिकवान् कुराचाहिँ राजीनामा दिनु नै हुन्छ ।”

पार्टी पदाधिकारी बैठकबाट गरिएका निर्णय स्वागतयोग्य भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको तर्क कायमै रहेको उनले उल्लेख गरे । “पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरू हामीले स्वागत गर्नुपर्छ,” उनले भने, “यद्यपि, हाम्रो व्यक्तिगत धारणाहरू हिजो जे बोलेको त्यो कायम छ ।”

बजेट भाषणअघि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने उनको भनाइ छ । राजनीतिमा नैतिकता प्रदर्शन गर्ने विषय स्वयं नेतामा भर पर्ने उनले बताए ।