किन गएनन् प्रधानमन्त्री ओली मानवअधिकार आयोगको वार्षिकोत्सवमा ?

किन गएनन् प्रधानमन्त्री ओली मानवअधिकार आयोगको वार्षिकोत्सवमा ?


ग्लोब नेपाल
513
Shares

काठमाडौं । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको २५औं (रजत) वार्षिकोत्सवमा अनुपस्थित भए । आयोगले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएपछि २५औं वार्षिकोत्सवमा अनुपस्थित भएको बुझिएको छ ।

‘आयोगको २५औं वार्षिकोत्सवमा प्रधानमन्त्रीज्‍यू आउने कार्यक्रम थियो, तर उहाँ आउनु भएन, आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले भने । तर प्रधानमन्त्रीको सचिवालयले भने विहान सबैरै हुने कार्यक्रममा असहज भएर प्रधानमन्त्री नगएको स्पष्ट पारेको छ ।

‘हिजो राति अबेरसम्म प्रधानमन्त्रीज्यू काममै व्यस्त हुनुभयो,’ प्रधानमन्त्रीका सञ्‍चारविज्ञ रामशरण बजगाइँले भने, ‘मानवअधिकार आयोगको कार्यक्रम बिहानै रहेछ । प्रधानमन्त्रीज्यूलाई उक्त समयमा जान असहज भयो ।’

प्रधानमन्त्री ओलीले आइतबार वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको व्यापक आलोचना भएको थियो । जसबारे आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जारी गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आयोगले भनेको थियो, ‘यस्तो परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’