एमालेलाई टुँडिखेलमा कार्यक्रम गर्न अनुमति, राजावादीलाई रिंगरोड बाहिर मात्रै

एमालेलाई टुँडिखेलमा कार्यक्रम गर्न अनुमति, राजावादीलाई रिंगरोड बाहिर मात्रै



काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) लाई टुँडिखेल आसपासका क्षेत्रमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, सुन्धारा, भृकुटीमण्डप र रत्नपार्कमा सांस्कृतिक कार्यक्रमका लागि अनुमति दिइएको हो।

उता, राजसंस्थाको पक्षमा संयुक्त जनआन्दोलन समिति काठमाडौंमै आन्दोलनको तयारीमा छ। समितिले रत्नपार्कबाट आन्दोलन सुरु गर्ने बताउँदै आए पनि प्रशासनसँग अनुमति भने अहिलेसम्म मागिएको छैन।

राजावादी समूहले अनुमति पर्खेर नबस्ने भन्दै आन्दोलन अघि बढाउने जनाएको छ। तर प्रशासनलाई जानकारी गराउने तयारीमा रहेको राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले बताएका छन्।

सुरक्षा निकायले भने रिङरोड भित्र राजावादीलाई कार्यक्रम गर्न नदिने रणनीति बनाएको छ। राजनीतिक तहको निर्देशनअनुसार रिङरोड बाहिरमात्रै कार्यक्रम गर्न दिने तयारी गरिएको स्रोतको भनाइ छ।