बर्दियामा चितुवाको आक्रमणमा परि बालिकाको मृत्यु

बर्दियामा चितुवाको आक्रमणमा परि बालिकाको मृत्यु


ग्लोब नेपाल
27
Shares

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुर गाउँमा चितुवाको आक्रमणमा परि १ जना बालिकाको मृत्यु भएको छ ।

बालापुरकी ७ वर्षीया बालिका साहिरा चौधरीको बुधबार विहान घरको पछाडि पट्टी रहेको शौचालय गर्न जाँदा चितुवाले आक्रमण गर्दा मृत्यु भएको हो । आक्रमणको घटनापछि मृतकका आफन्त र स्थानीयले चितुवा नियन्त्रणको माग गर्दै बर्दिया जिल्ला अस्पतालबाट नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडी चक्का जाम समेत गरेका छन ।

चितुवा नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको भन्दै जनप्रतिनिधिले समेत आक्रोश पोखेका छन । गुलरिया पाँचका वडाध्यक्ष मुम बहादुर मल्लले अब कति जना मान्छेको मृत्यु भएको चितुवा नियन्त्रण हुन्छ भन्दै प्रशासनलाई प्रश्न गरेका हुन् ।

मृतक बालिकाका आफन्तहरुले चितुवालाई नियन्त्रणमा नलिए सम्म लाश नउठाउने बताएका छन् । खेतीको समय शुरु भैसकेको समयमा घरमा बालबालिकालाई छोडेर काममा जान अप्ठेरो परेकोले चितुवालाई छिटो भन्दा छिटो नियन्त्रण लिनुपर्ने स्थानीयको माग छ ।

सोहि वडामा यसअघि चितुवाले २ जनालाई आक्रमण गरेर घाईते बनाएको थियो । गुलरिया डम्पिङ्ग साईडमा चितुवा आक्रमणमै एक जनाको मृत्यु भएको थियो ।