९५ अर्ब ८१ करोड बजेट स्वास्थ्य मन्त्रालयलाई

९५ अर्ब ८१ करोड बजेट स्वास्थ्य मन्त्रालयलाई



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

सरकारले प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री पौडेलले वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने उल्लेख गरे ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री पौडेलले बाँकी दाबी तेस्रो पक्षबाट परीक्षण गराइ यसै वर्ष भुक्तानी गर्ने बताए ।

‘स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छु । हालसम्म बाँकी दाबी भुक्तानीको रकम तेस्रो पक्षबाट परीक्षण गराइ यसै आर्थिक वर्ष भित्र फरफारक गर्ने व्यवस्था मिलाएको छु’, पौडेलले भने ।

त्यस्तै, बीमितहरूलाई फरक-फरक पोलिसी उपलब्ध गराइने र बीमा सुविधाको दुरुपयोग हटाउन दोहोरो सुविधा हटाइने भएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसङ्ख्यक समुदायको बीमा सुविधालाई निरन्तरता दिइने भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने भएको छ ।