बजेटबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्रालयल

बजेटबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्रालयल


ग्लोब नेपाल
27
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलन दिउँसो एक बजे मन्त्रालयमा हुनेछ । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले उक्त सम्मेलनमा बजेटको व्याख्या गर्ने बताइएको छ ।

सरकारले बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । बजेट बिनियोजन, सरकारका प्राथमिकता र बजेटबारे थप स्पष्टीकरण दिन आजको पत्रकार सम्मेलन आयोजना बताइएको छ । हरेक वर्ष बजेट सार्वजनिक भएपछि अर्थ मन्त्रीले पत्रकार सम्मेलन मार्फत सरकारका प्राथमकिताकाबारे जानकारी दिने गरेका छन् ।

सरकारले बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ उठाइने अनुमान गरिएको छ । बाँकी ५ खर्ब ९५ अर्ब ६६ अर्ब रुपैयाँमध्ये आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब र बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ व्यहोर्ने अर्थ मन्त्री पौडेलले बताए । सरकारले आगामी आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

सरकारले मुद्रास्फीति पाँच दशमलव पाँच प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको छ । सरकारले बजेट मार्फत सबै निजामति कर्मचारीलाई महँगी भत्ता ५ हजार पुर्‍याएको छ भने बृद्ध भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष कायम गरेको छ ।