बाल्टिमोर, अमेरिका । हिन्दू धर्मका प्रसिद्ध साधक कालीदास बाबा बाल्टिमोर आउनु हुने भएको छ। कालीबाबाका रूपमा नेपाल र भारतमा ख्याति कमाउनु भएको बाबा शनिवार र आइतवार बाल्टिमोरमा रहने आयोजकहरूले जानकारी दिएका छन्।
नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुंगाको तत्कालीन बर्नालु गाविसमा सन् १९५१ मा जन्मिनु भएका बाबा कालीदासले भारतबाट ज्ञान र काली माताबाट सिद्धि प्राप्त गर्नु भएको छ। भारतका विभिन्न स्थानहरूमा बाबाका धामहरू रहेका छन्। हरियाणा राज्यको साम्पलामा बाबाको एक प्रमुख धाम रहेको छ। भारतको आसाम राज्यमा बाबाले ‘श्री शिवशक्ति मन्दिर ट्रस्ट’ सञ्चालन गर्नु भएको छ भने ‘बाबा कालिदास परोपकार सोसाइटी’मार्फत मानव सेवामा योगदान दिइरहनु भएको छ।
यसैगरी, बाबा कालीदासले ‘परोपकार अस्पताल’ स्थापना गरेर निःशुल्क उपचार सेवा पनि प्रदान गर्दै आउनु भएको छ। मठ, मन्दिर तथा गौशालाको निर्माणमार्फत बाबाले हिन्दू धर्म र मानवताको सेवामा निरन्तर योगदान पुर्याउँदै आउनु भएको छ।
बाबाले २४ सै घण्टा अखण्ड विश्व शान्ति महायज्ञ सञ्चालन गर्दै आउनु भएको छ। विश्व शान्ति, मानवता, भाइचारा र हिन्दू धर्मको प्रचारप्रसारमा बाबा सक्रिय रूपमा संलग्न हुनुहुन्छ।
काली माताबाट ज्ञान र दीक्षा प्राप्त गर्नु भएका बाबा अन्न, अन्नपदार्थ केही पनि सेवन गर्नु हुन्न। केवल नरिवलको पानी सेवन गरेर उहाँ हिन्दू धर्म र अध्यात्ममार्फत विश्व शान्तिको कामनासहित मानव सेवामा समर्पित हुनुहुन्छ।
सिद्धयोगी महामण्डलेश्वर स्वामी श्री १००८ बाबा कृष्णानन्द कालीदास स्वामी परमहंस गुरुज्यूका रूपमा सम्मानित कालीबाबाले बनारस हिन्दू विश्वविद्यालयबाट हिन्दू धर्म र दर्शन विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गर्नु भएको छ।
बाल्टिमोर भ्रमणको व्यवस्थापन गरिरहेका स्थानीय व्यवसायी विनोद उप्रेतीका अनुसार बाबा शनिवार र आइतवार बाल्टिमोरमा रहनु हुनेछ। बाल्टिमोर बसाइका क्रममा उहाँले आफ्ना शुभेच्छुक तथा हिन्दू धर्मका अनुयायीहरूलाई प्रवचन र आशीर्वचन दिने कार्यक्रम तय गरिएको छ।
बाल्टिमोरमै रहेका पत्रकार तथा आयोजकमध्ये एक, यस ग्लोब नेपाल डट कमका संस्थापक एवं प्रधान सम्पादक गौतम दाहालका अनुसार, कालीबाबाको सम्मान तथा स्वागतमा शनिवार बिहान १० बजेदेखि मध्यान्हसम्म स्थानीय हिन्दू–बौद्ध मन्दिरमा आयोजना हुने कार्यक्रममा बाबा सहभागी हुनेछन्।
त्यस्तै, अन्य हिन्दू मन्दिरहरूमा पनि बाबालाई दर्शनका लागि लैजाने तयारी भइरहेको जानकारी दिइएको छ। भक्तजनसँग हुने भेटघाट कार्यक्रमको व्यवस्थापन हिन्दू–बौद्ध मन्दिरका सञ्चालकहरूले गरिरहेका छन् भने आफूहरूले त्यसको समन्वय गरिरहेको व्यवसायी विनोद उप्रेतीले बताएका छन्।
कालीबाबासँग भेट गरी आशीर्वचन लिन इच्छुक भक्तजन तथा शुभचिन्तकहरूलाई शनिवार बिहान स्थानीय हिन्दू–बौद्ध मन्दिरमा उपस्थित हुन आयोजकद्वय गौतम दाहाल र विनोद उप्रेतीले अनुरोध गरेका छन्।

प्रतिक्रिया