पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि हालै नियुक्त भएका पाँच मुलुकका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

सोमबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गरेका हुन् ।

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने राजदूतहरूमा नेपालका लागि केन्याका मुन्यिरी पिटर, जोर्डनका युसेफ अब्देलगानी, जिम्बाब्वेका स्टेला एनकोमो वाहग्न, डेनमार्कका रासमस एबिलगार्ड र उरुग्वेका आल्बेर्टो ए. ग्वानी छन् ।

समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म नेपाली परम्पराअनुसार रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो, जसले नेपालको कूटनीतिक सम्मान र सांस्कृतिक गरिमालाई झल्काएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले दिए ।