नयाँदिल्ली। यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल आज हुँदैछ । फाइनलमा अहिलेसम्म उपाधि नजितेका रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र पञ्जाव किंग्स पुगेका छन् । अहमदावादमा हुने यो फाइनल आज राति नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदैछ ।
रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेल्दैछ । यस अघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको बैंगलुरुलाई यस पटक पहिलो उपाधि जित्ने अवसर रहेको छ । त्यस्तै पञ्जाव भने दोस्रो पटक आइपिएलको फाइनल खेल्दैछ । यस अघि पञ्जाव २०१४ बमा उपविजेता बनेको थियो ।
रोयल च्यालेन्जर्स ९ वर्षपछि र पञ्जाब किंग्स ११ वर्षपछि फाइनलमा पुगेका छन् । अब यस पटक कम्तिमा एक टिमले पहिलो पटक उपाधि जितेर इतिहास बनाउने तयारीमा छन् । रोयल च्यालेन्जर्सका लागि फाइनलमा विराट कोहलीको प्रदर्शन महत्वपूर्ण हुने छ । यस सिजनमा कोहलीले १४ खेलमा ६१४ रन बनाएका छन्, जसमा उनको औसत ५५.८२ र स्ट्राइक रेट १४६.५४ रहेको छ । उनले ८ अर्धशतक प्रहार गरेका छन् ।
यस वर्षको आईपीएलमा, विराट कोहलीले पञ्जाब किंग्स विरुद्ध ३ इनिङमा कुल ८६ रन बनाएका छन्, जसमा उनको औसत ४३ र स्ट्राइक रेट १२४.६३ रहेको छ । पञ्जाब विरुद्धको उनको २० अप्रिलमा खेलिएको खेलमा कोहलीले ५४ बलमा अविजित ७३ रन बनाएका थिए ।अर्को तर्फ पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यरको भूमिका पनि फाइनलमा महत्वपूर्ण हुने छ ।
उनले आफूलाई उत्कृष्ट ब्याट्सम्यानको रुपमा मात्र होइन रणनीतिक र भरपर्दो लिडरको रूपमा स्थापित गरेका छन् । उनले पछिल्लो ५ वर्षमा तेस्रो फ्रान्चाइजीलाई फाइनलमा पुर्याएका छन् । श्रेयस अय्यरले आईपीएलमा तीन फरक टोलीको फाइनलमा नेतृत्व गरेका छन् ।
पहिलो पटक २०२० मा दिल्ली क्यापिटल्सलाई पहिलो पटक फाइनलमा पुर्याएका थिए, त्यसपछि २०२४ मा कोलकाता नाइट राइडर्सको कप्तानी गरे र उपाधि जिताए र २०२५ मा ११ वर्षपछि पञ्जाब किंग्सलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनको कप्तानीमा यी उपलब्धिहरू आईपीएल इतिहासमा विशेष स्थान राख्छन् ।
अय्यरको कप्तानीमा, पञ्जाबले सिजनभरि उत्कृष्ट स्थिरता देखाएको छ र ११ वर्षपछि फाइनलमा पुगेको छ । बलरहरूको स्मार्ट प्रयोग, ब्याटिङ क्रममा निर्णायक इनिङ र मैदानमा उनको शान्त दिमागले पञ्जावलाई सन्तुलन र सफलता दिलाएका छन् । कोलकाता नाइट राइडर्सले २०२५ को मेगा लिलामी अघि श्रेयसलाई रिलिज गरको थियो ।
उनलाई पञ्जाबले २६.७५ करोड भारुमा किनेको थियो, जसले गर्दा उनी आईपीएल इतिहासको दोस्रो सबैभन्दा महँगो खेलाडी बने । पञ्जाब किंग्सले १८ सिजनमा १७ फरक कप्तानहरू प्रयोग गरेको छ, तर अय्यरले पहिलो सिजनमै टोलीलाई स्थिरता र विजयी मानसिकता दिए ।
उनले ११ वर्षपछि पञ्जाबलाई प्लेअफमा पुर्याउने मात्र होइन, टोलीलाई सिधै फाइनलमा पनि पुर्याएर आफुमाथि पञ्जावले गरेको खर्चलाई न्याय गरेका छन् ।एक ब्याट्सम्यानको रूपमा, उनले शीर्ष क्रममा खेल्दा ६०३ रन बनाएका छन्, जसमा ६ अर्धशतक पनि समावेश छन् ।
प्रतिक्रिया